काठमाडौं: विश्व स्वास्थ्य संगठनले सोमबारमात्र कोभिड-१९ का विभिन्न भेरियन्टलाई ग्रीक अक्षरको नाम दियो। यसअघि विभिन्न देशमा फेला परेका भेरियन्टलाई देशकै नामबाट चिनिँदै आएको थियो। त्यसलाई परिवर्तन गर्दै डब्लुएचओले ग्रीक वर्णमालाका अक्षरहरुलाई भेरियन्टको नाम दियो।
जस अनुसार बेलायतमा फेला परेको युके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा फेला परेको अम्रिकी भेरियन्टलाई बेटा, ब्राजिल भेरियन्टलाई गामा र इन्डियन भेरियन्टलाई डेल्टाको नाम दिइएको छ।
नाममा बढ्दो जातिवाद
भाइरसको नामलाई त्यसको उत्पत्तिको स्थानसँग जोडेर नामाकरण गर्ने पुरानो परम्परा जस्तै हो। मार्वर्ग प्राणघातक इबोलाको एक भेरियन्ट हो जसलाई जर्मनको एक शहरको नामबाट नामाकरण गरिएको थियो। जहाँ पहिलोपटक यसको पहिचान भएको थियो। त्यस्तै इबोलाकै अर्को स्ट्रेनलाई रेस्टोन भनिन्छ। जसको नामाकरण भर्जिनियाको एक शहरको नामबाट गरिएको हो। जहाँ पहिलोपटक संक्रमण बाँदरमा फेला परेको थियो।
इबोला पनि आफैँमा एक नदीको नामबाट नामाकरण भएको हो। प्रजातान्त्रिक गणतन्त्र कंगोको एक नदीको नामबाट इबोलाको नामाकरण भयो। जहाँ पहिलोपटक यसको पहिचान भएको थियो। तर, कहिलेकाहीँ परम्परागत नामकरणको कारण देश तथा त्यहाँका जनता दुबैका लागि कलंकको रुपमा सावित हुन जान्छन्। विशेषगरि सो देशबाट बसाइँसराइ गरी विश्वका अन्य कुनामा बसोबास गरिरहेका नागरिकहरु यसरी गरिएको नामाकरणको सिकार हुन पुग्छन्।
कोभिड-१९ को केसमा पनि त्यस्तै सावित भयो। यसको उत्पत्ति र भेरिन्टहरुको पहिचानका आधारमा एन्टी एसियन जातिवाद तथा हिंस्रक सिनोफोविक आक्रमण भए। विशेषगरि अमेरिकामा पूर्वी एसियाली मुलुकहरुका नागरिकमाथि ‘चाइना भाइरस’ फैलाएको भन्दै दुर्व्यवहार तथा हिंशात्मक आक्रमण भए। एक अध्ययनले अमेरिकामा २०२१ को पहिलो चौमासिकमा मात्र ९५ वटा एन्टि-एसियन घटना भएका छन्। जुन २०२० को पहिलो चौमासिकमा ३६ थियो। न्यूयोर्कमा मात्र २०२१ को पहिलो चौमासिकमा २२३ प्रतिशतले यस्ता घटना बढेका छन्। सान फ्रान्सिस्कोमा १४० प्रतिशत र लस एन्जलसमा ८० प्रतिशतले एसियाली मुलका नागरिकमाथि हिंसात्मक घटना भएका छन्।
क्यालिफोर्निया स्टेट युनिभर्सिटीले अमेरिकाका १६ ठूला शहरहरुमा गरेको अध्ययनले २०२१ को पहिलो चौमासिकमा करिब १६४ प्रतिशतले यस्ता घटना बढेको देखाएको छ। ‘यस वर्षको पहिलो चौमासिकमा एन्टि-एसियन घृणाजन्य अपराध बढेका छन् जुन गत वर्षदेखि सुरु भएको थियो,’ अनुसन्धानकर्ताले लेखेका छन्, ‘गत वर्ष पहिलो पटक मार्च र अप्रिलमा कोभिड-१९ को संक्रमण बढेसँगै डब्लुएचओको घोषणासँगै यस्ता घटनाहरु बढेका थिए। र एसियाली मुलका नागरिकहरुलाई राजनीतिक तथा अनलाइनमार्फत कलंकित पार्ने काम भएको थियो।’
गत मार्चमा मात्र अटलान्टाको एक स्पामा भएको “मास सुटिङ”मा परी ८ जना एसियली मुलका व्यक्तिहरुले ज्यान गुमाएका थिए।
यस्ता घटना बढ्दै जाँदा मे २० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले एन्टि-एसियन घृणाजन्य अपराध नियन्त्रणका लागि कानुनमा हस्ताक्षर गरेका थिए।
सिंगापुरमा पनि इन्डियन भेरियन्टको संक्रमण देखा परेपछि एक भारतीय मुलकी महिलामाथि आक्रमण भएको थियो।
भेरियन्टलाई त्यस पहिलोपटक पहिचान भएको देशको नामसँग जोडेर हेर्दा यसमा राजनीति मिसिँदै गयो। देशहरु एक अर्कालाई आरोप लगाउँदै गए। यसले देशको नाममा बदनाम बनाउँदै पनि लग्यो। यसको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट भयो। सार्स-सीओभी-२ लाई उनले ‘चाइनिज भाइरस’, ‘कुङ फ्लु’ जस्ता जातिवादी नामाकरण दिए।
त्यतिमात्र होइन यससँगै एक अर्काविरुद्ध आरोपको खेल पनि भयो। कोभिड-१९ को नामाकरणको विषयले मात्र होइन यसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र यात्रा प्रतिवन्धले पनि यसलाई सहयोग पुर्यायो। यस्तो आरोप प्रत्यारोप जातिवादतर्फ अगाडि बढ्दै गयो। बेलायतमा पनि एक ठाउँबाट अर्को ठाउँमा यस्ता घटना घटेका छन्।
भारतमा पनि चीन विरोधी गतिविधि भए। त्यहाँ ‘गो ब्याक चाइना’का नाराहरु सत्तारुढ दलका नेताहरुबाटै लगाइए। भारतको पूर्वोत्तर राज्यका नागरिकहरु भारतमै यसको सिकार भए। नागाल्याण्डकी एक महिलामाथि गत वर्ष मुम्बइमा यस्तै घटना भयो। सार्वजनिक स्थानमा उनीमाथि दुर्व्यवहार भयो।
नामाकरणमा विवाद
पक्कै पनि भाइरसको नामलाई वैज्ञानिक नामबाटभन्दा स्थान विशेषको नामबाट पहिचान गर्न वा सम्झिन सजिलो हुन्छ। कोभिड-१९ को म्युटेसनको वैज्ञानिक नाम बी.१६१७ (भारत), बी११७ (युके) अथवा बी१३५१ (साउथ अफ्रिका)। तर, यसले जातिवाद, देशको राजनीतिक असर तथा सामाजिक असर पुर्याउँदै हिंसात्मक घटना निम्त्याएको छ।
त्यसैले पनि डब्लुओचओले २०१५ मै निर्देशिका जारी गर्दै व्यक्ति तथा स्थानको नाम विशेषलाई भाइरसको नाम दिन नहुने बबताएको थियो। त्यस्तै त्यस्ता भाइरसको नाम कुनै जनावरका प्रजातिको नामबाट दिन नहुने बताएका थिए। सो निर्देशिकामा एच१ एन१ लाई स्वाइन फ्लु र एच७ एन ९ लाई बर्डफ्लू भन्न नहुनेसमेत उल्लेख थियो।
सन् १९१८ को फ्लु भाइरसलाई स्पेनिस फ्लुको नाम दिइएको थियो। यद्यपि यसको उत्पत्ति स्पेनबाट भएको थिएन्। किनकि त्यतिबेला विश्व पहिलो विश्व युद्धमा थियो र स्पेन एउटा यस्तो देश थियो जो तटस्थ बसेको थियो। त्यहाँ त्यस्तै फ्लु आउटब्रेकका घटनाहरुमा सेन्सर लगाइएको थिएन्।
भाइरस तथा रोगको नामाकरण स्थान विशेषको रुपमा राख्न नहुने भन्ने विवाद धेरै पहिले देखिको हो। सन् २००९ मा भारतको नयाँ दिल्लीमा स्वीडेनका एक व्यक्ति बिरामी परे। उनमा क्लेबसिएला निमोनियाको संक्रमण देखिएको थियो। त्यतिवेला त्यसको नामाकरण न्यू दिल्ली मेटाल्लो-बेटा-ल्याक्टेमास १ अथवा एनडीएम-१ दिइएको थियो। भारतले यसको विरोध गरेको थियो। यसको संक्रमण विश्वका विभिन्न देशहरुमा देखा पर्यो। भारतको स्वास्थ्य मन्त्रालयले बेलायती अनुसन्धानको विरोध गर्दै न्यू दिल्लीको नाम जोडिएको भन्दै विरोध जनाएको थियो।
लान्सेटमा प्रकाशित रिपोर्टलाई लिएर भारतको संसदमासमेत प्रश्न उठेको थियो। लानसेन्टका सम्पादक रिचर्ड होर्टनले २०११ मा त्रुटि भन्दै माफी मागेका थिए।
नामाकरणमा परिवर्तन
बढ्दो विवाद र जातिवादी तथा हिंसात्मक घटना बढ्दै जाँदा डब्लुएचओले भेरियन्टको नामाकरणलाई ग्रीक अक्षरबाट नामाकरण गरेको हो। यसको नामकरण उनीहरुको पहिचान भएको मितिले निर्धारण गरिएको छ। पहिले पहिचान भएकालाई वर्णानुक्रमको पहिलो अक्षर र त्यसपछिको पहिचान भएको मिति अनुसार क्रमश: वर्णानुक्रमको नाम दिइएको छ।
जसअनुसार बेलायतमा सेप्टेम्बर २०२० मा नमुना संकलन गरी डिसेम्बर १८ २०२० मा पहिचान दिइएको बी १.१.१७ लाई अल्फा, २०२० को मेमा दक्षिण अफ्रिकाबाट नमुना संकलन भई डिसेम्बर १८ कै दिन पहिचान दिइएको बी.१.३५१ लाई बिटा, २०२० को नोभेम्बर मा ब्राजिलबाट नमुना संकलन गरी ११ जनवरी २०२१ मा पहिचान दिइएको पी.१ लाई गामा र भारतबाट अक्टोबर २०२० मा नमुना संकलन भई पहिचान भएको बी१.६१७.२ लाई डेल्टा नाम दिइएको छ। यो भेरियन्टलाई अप्रिल २०२१ मा भेरियन्ट अफ इन्ट्रेस्ट र ११ मे २०२१ मा भेरियन्ट अफ कन्सर्नमा राखिएको थियो। त्यस्तै भारतमै पहिचान भएको बी.१.६१७.१ लाई कापा नामाकरण दिइएको छ।
त्यस्तै अमेरिकामा देखिएको बी.१.२४७/बी.१.४२९ लाई पिल्सन, ब्राजिलको पी.२ लाई जिटा, धेरै देशहरुमा देखा परेको बी.१.५२५ लाई इटा, फिलिपिन्सको पी.३ लाई थिटा र अमेरिकाकै बी.१.५२६ लोटा नामाकरण दिइएको छ।
यो नामाकरणलाई अमेरिकाले हुरिक्यानको नाम दिएको जस्तै तटस्थ नाम दिइएको डब्लुएचओकी प्रमुख बैज्ञानिक डाक्टर सौम्या स्वामिनाथनले बताएकी छन्।
यो सामाग्री पहिलोपटक पहिलोपोस्टमा प्रकाशित भएको हो।